All for Joomla The Word of Web Design

आर्थिक वर्ष २०७५÷७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बजेट

आर्थिक वर्ष २०७५÷७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन

काठमाडौं, १७ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यसैगरी सरकारले आगामी आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धि दरको लक्ष्य लिएको छ । बजेट कार्यान्वयनबाट ५ लाख जनाले रोजगारी पाउने र मूल्यवृद्धि ५ प्रतिशतमा सीमित हुने बताइएको छ ।।

सरकारले आगामी आर्थिक वर्ष २०७५÷७६ का नीति र कार्यक्रमहरु कार्यान्वयनका लागि कुल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । संघीय संसदको मंगलबारको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले कुल विनियोजनमध्ये चालूतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख अर्थात् ६४.३ प्रतिशत र पुँजीगततर्फ तीन खर्ब १३ अर्ब ९९ करोड ८२ लाख अर्थात् २३.९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ एक खर्ब ५५ अर्ब ७१ करोड ६० लाख अर्थात् ११.८ प्रतिशत रहेको जानकारी दिनुभयो । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजश्वतर्फ ८ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख र वैदेशिक अनुदानबाट ५८ अर्ब ८१ करोड ५५ लाख व्यहोर्दा चार खर्ब २५ अर्ब २ करोड ८२ लाख बजेट न्यून हुनेछ । बजेटमा देखिएको न्यून पूर्ति गर्नका लागि वैदेशिक ऋणबाट दुई खर्ब २५ अर्ब २ करोड ८२ लाख जुटाइने र राजश्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गर्दा अपुग हुने खुद एक खर्ब ७२ अर्ब आन्तरिक ऋणबाट व्यहोरिने बताइएको छ । यसैगरी सरकारले आगामी आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धि दरको लक्ष्य लिएको छ ।

आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनबाट ८ प्रतिशत आर्थिक वृद्धिदर कायम हुने बताउनुभएको हो । बजेट कार्यान्वयनबाट ५ लाख जनाले रोजगारी पाउने र मूल्यवृद्धि ५ प्रतिशतमा सीमित हुने बजेटमा उल्लेख गरिएको छ । चालू आर्थिक वर्षमा भने सरकारले ७ दशमलब २ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको थियो । तर, चालू आर्थिक वर्षमा ५ दशमलब ९ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल हुने प्रक्षेपण अर्थ मन्त्रालयले गरेको छ । गत आर्थिक वर्ष २०७३÷७४ मा सरकारले ७ दशमलव ३५ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेकामा यस्तो अंक ६.५ मा सीमित भएको थियो । जुन विगत अढाई दशक यताकै उच्च आर्थिक वृद्धिदर थियो । गत आर्थिक वर्षदेखि सरकारले उच्च आर्थिक वृद्धि दरको लक्ष्य लिँदै आएको छ । पछिल्लो एक दशकको आर्थिक वृद्धिदर औसत ४.३ प्रतिशत छ । गत ७ जेठमा सरकारले जारी गरेको आव २०७५÷७६ को बजेटका नीति तथा कार्यक्रममा आगामी पाँच वर्षमा दोहोरो अंक नजिकको र पाँच वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने उल्लेख गरेको थियो । नेपालीको हालको प्रतिव्यक्ति आयलाई आगामी पाँच वर्षमा दोबर बनाउने, १० वर्षभित्र नेपाललाई मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्ने र निर्धारित समयअगावै दिगो विकासका लक्ष्य हासिल गर्ने लक्ष्य उक्त नीति तथा कार्यक्रममा उल्लेख थियो ।

0 Comments

Leave a Comment

Login

Welcome! Login in to your account

Remember me Lost your password?

Lost Password

Login

Lost your password?
X